पति एकीकृत समाजवादीबाट मन्त्री, पत्नी एमालेबाट काठमाडौंको मेयरमा सिफारिस

काठमाडौं महानगरपालिकाको मेयर पदकालागि एमालेबाट इन्दिरा पन्त सिफारिस भएकी छन्। एमाले महानगरले ५ जनाको नाम सिफारिस गरेकोमा जिल्लाले कमिटीको बैठकले मेयरमा तीनजनाको नाम सिफारिस गरेको हो । मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित र इन्दिरा पन्तको नाम जिल्ला कमिटीले सिफारिस गरेको हो । महानगरमा नयाँ अनुहारका रुपमा पन्तको नाम सिफारिस भएको छ । पन्त भने एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् । पन्त प्रदेशमन्त्री वसन्त मानन्धरकी श्रीमती पनि हुन्।

उनका श्रीमान नेकपा एकीकृत समावादीबाट बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री छन् । नेकपा एमाले विभाजन भएसँगै उनका पति मानन्धर माधव नेपालको पार्टी रोजेका थिए भने श्रीमती एमालेमै रहेकी थिइन् । श्रीमान एकीकृत समाजवादी पार्टीबाट मन्त्री र श्रीमती नेकपा एमालेबाट मेयरमा सिफारिस भएपछि दुवैको आलोचना भइरहेको छ ।

मेयरमा सिफारिस पन्त रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष हुन् । उनी पहिला सुरेन्द्र पाण्डे संयोजक रहेको एमालेको अर्थ तथा योजना विभाग सदस्य समेत थिइन् । इन्दिराले यदि मेयरको टिकट पाइन् भने विजयी हुन आफ्नै पतिको चुनौती सामना गर्नुपर्ने छ ।एमालेबाट फुटेर गठन भएको नेकपा एसले आफूले नजिते पनि एमाले हराउने रणनीति अख्तियार गरेको छ । पार्टीको काठमाडौं जिल्ला अध्यक्ष भएकाले जिल्लाको चुनावी कमान्डर वसन्त नै हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार