काममा फर्किएका गभर्नर अधिकारीले भने-‘सर्वोच्चको आदेश समग्र सिस्टमको पक्षमा आयो’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमको पक्षमा आएको बताएका छन् ।हिजो मङ्गलवार सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न आज बुधवार राष्ट्र बैंक पुगेका गभर्नर अधिकारीले पत्रकारहरूसँग कुरा गर्दै सर्वोच्चको आदेश समग्र सिस्टमको पक्षमा आएको बताएका हुन् । उनले निलम्बनपछिका दिनमा आफ्नो पक्षमा भन्दा पनि समग्र प्रणालीका पक्षमा बोलिदिनेहरूप्रति आभार व्यक्त गरे ।

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा आएकोे भन्दै गभर्नर अधिकारीले आउँदा दिनमा आउने आदेश पनि आफ्नो पक्षमा आउने आशा व्यक्त गरे । उनले भने , ‘म एउटा माध्यम मात्रै हुँ । यो एउटा समग्र सिस्टमको लागि आएको आदेश हो जस्तो मलाई लाग्छ । यहाँहरूले पनि मेरो लागि भन्दा पनि सिस्टमको लागि बोलिदिनु भएको छ । हामी व्यक्ति भन्दा पनि संस्था नै हौंँ ।’

राष्ट्र बैंक र अर्थ मन्त्रालय एउटा संस्था भएको भन्दै गभर्नर अधिकारीले आउँदा दिनमा बैंक र मन्त्रालयले संस्थागत रूपमा सल्लाह गरेर जिम्मेवारी पूरा गर्ने क्रममा गर्नुपर्ने समन्वय पूरा गर्ने बताए। उनले बैंक र मन्त्रालयबीचमा गरिने काममा कुनै किसिमको पूर्वाग्रह नराख्ने बताए ।

गएको चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । गभर्नर अधिकारीविरुद्ध विभिन्न आरोप लगाउँदै मन्त्रिपरिषद्ले पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गरेसँगै उहाँ स्वतः निलम्बनमा परेका थिए ।

त्यसविरुद्ध गभर्नर अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । गभर्नर अधिकारीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न र गभर्नरका रूपमा काम गर्न दिन हिजो अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यस निवेदनमाथि वैशाख १३ गते अन्तरिम आदेशका लागि सुनुवाइ गर्न पेसी तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार