एकीकृत समाजवादीको घोषणापत्र : मदिरा सेवन गर्न पालिकाबाट अनुमतिपत्र लिनुपर्ने

नेकपा एकीकृत समाजवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै मदिरा कार्डको व्यवस्था लागू गर्ने बताएको छ । जथाभावी मदिरा सेवनले विकृति र आपराधिक घटना बढेको भन्दै मदिरा कार्डको व्यवस्था लागू गर्ने बताएको हो । जथाभावी मदिरा सेवनले मानिसहरूको सम्पत्तिसकिने, झैझगडा हुने भएकाले मदिरा सेवन गर्नेले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने उल्लेख गरेको छ ।

‘जथाभावी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमाझैंझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक छ । मदिरासेवन गर्नेहरूले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने छ । यसबाट जथाभावी रूपमा मदिरासेवनमा नियन्त्रण हुने छ भने सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने छ,’ समाजवादीको घोषणापत्रमा भनिएको छ ।

यस्तै पार्टीले मतदातालाई निशुल्क खानेपानी र दुई सय युनिट विद्युत निुशल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । ‘हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खाने पानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने छ,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ, ‘खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा अनिवार्य रूपमा पु–याइने छ ।’

घोपाणापत्रमा हरेक घरपरिवारमा स्वच्छ खानेपानी पु(याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने जनाइएको छ । सोहीअनुसार बजेटको प्राथमिकता निर्धारण गरिने समेत घोषणापत्रमा उल्लेख छ ।

‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता नेकपा एसले गरेको छ ।

‘स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइने छ । यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।

नेकपा एमालेबाट विभाजित भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले पहिलो पल्ट निर्वाचनमा भाग लिन लागेको हो । आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरू गठबन्धनबाट चुनाव लड्ने निर्णय गरिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार