रेबिजबाट टेकुमा मात्रै एक महिना १० जनाको मृत्यु, दैनिक ५ सय जनासम्म पुग्छन् अस्पताल

पछिल्लो समय रेबिज रोगबाट हुने मृत्युको संख्या ह्वात्तै बढेको छ । रेबिज भाइरसबाट संक्रमित कुकुर तथा अन्य जनावरको टोकाइबाट शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा मात्र डेढ महिनामा १० जनाको मृत्यु भएको छ ।

संक्रमित जनावरले टोकेपछि सुरुवाती चरणमै रेबिजविरुद्धको खोप लगाएर ज्यान जोगाउन सकिने भए पनि शरीरमा संक्रमण फैलिसकेपछि मृत्यु निश्चित छ । यसबारे धेरैलाई थाहा नहुँदा र अस्पताल लैजान ढिलाइ गर्दा ज्यानै गुमाउने गरेका छन् ।

पछिल्लो एक महिनामा कोरोना संक्रमणबाट हुने मृत्यु भन्दा धेरै रेबिजबाट बिरामीको मृत्यु भएको छ। पछिल्लो समय टेकु अस्पताल कुकुर तथा अन्य जनावरले टोकेर उपचार गराउन आउने बिरामी संख्या पनि धेरै छ। हाल अस्पतालमा दैनिक ५ सय जनासम्म कुकुर तथा अन्य जनावरले टोकेका बिरामी उपचारमा आउने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा रेबिजका कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ । एक करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ । एशिया क्षेत्रमा मात्रै रेबिजका कारण ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । कतिपय देशहरुले भने कुकुरलाई अनिवार्य खोप र मानिसका लागि रेबिज खोपको राम्रो व्यवस्थापन गरेका छन् ।

संक्रमित जनावरले टोकेपछि रेबिज भाइरस मांसपेशीबाट नसा हुँदै दिमागमा पुग्छ र फेरि शरीरका विभिन्न भागमा फैलिन्छ ।

के हो रेबिज, कसरी सर्छ ?
सुरुमा जनावरको र्यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हँुदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । गिदीमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

लक्षण
रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।

उपचार विधि
रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने । कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पुर्याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ । कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार