सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक सुरु भएको छ । एक घण्टा ढिला गरी केहिबेर अघिबाट बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक स्थगित गरेर दुई बजे डाकिएको थियो ।

स्थानीय तहको निर्वाचनको २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले तालमेलको सहमति गरेपनि सिट बाँडफाँट गर्न सकेको छैन । आजको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने बताइएको छ ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच सिट भागवण्डाका लागि आइतबार यता हरेक दिन बालुवाटारमा बैठक बसे पनि अनिर्णित छ । विशेषगरी महानगरमा सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति नहुँदा सोमबारको बैठक अनिर्णित बनेको थियो ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरसहित पोखरामा दाबी गरेको छ । तर, एकीकृत समाजवादीले पनि पोखरामा दाबी गरिरहेको छ । पोखरामा तत्कालीन एमालेले जितेको कारण पनि समाजवादीले आफ्नो दाबी राखेको छ । तर, त्यसमा कांग्रेस सहमत हुन सकेको छैन ।

माओवादी केन्द्रले दाबी गरेको भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउनेमा भने करिबकरिब सहमति जुटिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार