गठबन्धन बैठकमा भरतपुर महानगरपालिका माओवादी केन्द्रले पाउने पक्का

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबिच चुनावी तालमेलमा भइरहेको लामो रस्साकस्सीबिच चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिने सहमति करिब करिब पक्का जस्तै बनेको छ । महानगर र उपमहानगरको सिट बाँडफाँड गर्न बसेको गठबन्धन बैठकमा काठमाडौँ भरतपुर लगायतका महानगर र केही उपमहानगरको बाँडफाँडमा सहमति जुटिसकेको स्रोतको दाबी छ । सोही सहमति भएपछि प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले काँग्रेस चितवनका जिल्ला सभापतिलाई बोलाएर भरतपुर महानगरबारे भएको सहमतिबारे जानकारी गराइसकेका छन् । देउवाले पछिल्लो छलफलबारे जानकारी गराउदैं सम्बन्धित प्रदेश र जिल्लाका नेताहरूसँग समेत परामर्श गरेका छन् ।

सबै महानगरपालिकाको प्रमुख पदमा काँग्रेसले आफ्नो दाबी नछोड्दा चुनावी तालमेल गर्न समस्या हुने भएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय नेता कार्यकर्तासँग परामर्श गरेका हुन् । प्रधानमन्त्री देउवाले विवाद भइरहेका जिल्लाका नेतालाई काठमाडौं बोलाएका थिए । देउवाले बोलाएपछि चितवन काँग्रेसका सभापति राजेश्वर खनाल सोमबारै काठमाडौं आएका थिए भने पोखरा महानगरपालिकाको विषयमा छलफल गर्न कास्की जिल्ला सभापति किशोरदत्त बरालसहित नेताहरू समेत काठमाडौं आएका छन् । चितवन सभापति खनालले समेत मङ्गलवार बिहान ११ बजे सभापति एवम् प्रधानमन्त्री देउवासँग भेटेको र पछिल्लो जानकारी पाएको पुष्टि गरिसकेका छन् ।

भेटमा प्रधानमन्त्री देउवाले सभापति खनाललाई चुनावी तालमेल गर्दा भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिनुको विकल्प नभएको भन्दै चितवन काँग्रेसको निर्णय बदल्न आग्रह गरेको जनाए । सभापति खनालले आफूले कार्यकर्ताको भावनाविपरीत निर्णय बदल्न कठिन हुने देउवालाई सुनाएको समेत टिभी अन्नपूर्णलाई बताएका छन् । भरतपुर महानगरपालिकाको मेयरमा अघिल्लो निर्वाचनमा समेत काँग्रेसले माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई समर्थन गरेका थिए । गठबन्धन गर्दा आलोपालो सिद्धान्तका आधारमा समेत यस पटक भरतपुरको मेयर काँग्रेसले पाउनुपर्ने स्थानीय नेता कार्यकर्ताको अडान छ ।

काङ्ग्रेसका महानगर, क्षेत्र र जिल्ला कार्यसमितिहरूले त्यही निर्णय लिएर केन्द्रको ध्यानाकर्षण गराएका थिए । ‘उहाँले तपाईँहरूको निर्णय बदल्नुपर्‍यो । तालमेल गर्ने भनेपछि सबै आफैँले मात्रै लिने भन्ने हुँदैन,’ देउवाको भनाइ उद्धृत गर्दै खनालले भनेका छन् । उनले आफूहरूले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गरेर अघि बढ्ने निर्णय गरेको र पार्टी केन्द्रले त्यहीअनुसार निर्णय गर्ने अपेक्षा रहेको बताए । यसअघि चैत्र दोस्रो साता बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले ‘स्थानीय तहको अवस्था र आवश्यकताअनुसार चुनावी तालमेल गर्न सक्ने’ भन्ने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार