अमेरिकाबाट चार सिनेटर नेपाल आउँदै

अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरूको  समूह यही वैशाख ९ गते आउँदो शुक्रवार नेपाल आउने भएको छ ।  अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउने भएका हुन्। उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै छन् । उनीहरू विभिन्न देशको भ्रमण गर्ने क्रममा नेपाल पनि आउन लागेका हुन् ।

नेपालसँगै उनीहरूले पोल्यान्ड, यूएई, भारत र जर्मनीको नौ दिने भ्रमण गर्नेछन् । नेपाल भ्रमणका बेला द्विपक्षीय कुटनीतिक सम्बन्ध र दुई देशका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अरू विशेष भ्रमणको उद्देश्यबारे पुष्टि नभए पनि रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनको पक्षमा समर्थन जुटाउन उनीहरू विभिन्न देशको भ्रमणमा निस्कन लागेको बुझिएको छ । यो समूह वैशाख ११ गते आइतवार नेपालबाट फर्किनेछ ।

यसअघि अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुनुअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाण्डौ आउँदा सिनेटर केली पनि सँगै आएका थिए ।   प्रधानमन्त्री शेरबहादुर देउवाको भर्खरै भएको भारत भ्रमण, चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण, नेपाली संसदबाट ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्टको अनुमोदन र संयुक्त राष्ट्रसंघका विभिन्न मञ्चमा युक्रेनको पक्षमा नेपालले मतदान गरेपछि यो भ्रमण तय भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार