सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, केही दिनपछि धारामा पठाइने

गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ ।

सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले जानकारी दिए । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो ।

गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले वाग्मतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि वाग्मतीको बहाव केही बढेको देखिन्छ । अहिले वाग्मतीमा धमिलो पानी बढेको स्थानीयवासी रामप्रसाद पुडासैनीले बताए । गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीका संरचनामा क्षति पुगेको थियो । क्षति भएको संरचना पुनःनिर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो ।

मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्ने उनले बताए । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ ।

प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच गरी आगामी आइतबारदेखि घरायसी धारामा पानी वितरण गर्ने तालिका समेत तय भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका घरघरका धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार