सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

काठमाडौँ, । नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद ग¥यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन भित्र्याएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती सवारी साधन काठमाडौँ उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात गरिएको हो । विद्युतीय सवारी साधन प्रयोग गर्दा वार्षिक रुपमा रु एक करोड बराबरको बचत हुने प्रारम्भिक अनुमान गरिएको छ । सरकारी निकायले पनि क्रमशः विद्युतीय सवारी साधन प्रयोग गरून् भन्ने ध्येयका साथ प्राधिकरणले विद्युतीय सवारीतर्फको यात्रा अगाडि बढाएको हो ।

प्राधिकरणले खरिद गरेको टाटा नेक्शन इभी एक पटक चार्ज गर्दा ३१२ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा २१६ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ । सो सवारीमा ३०।२ किलोवाट क्षमताको ‘लिथियम आयन ब्याट्री’ प्रयोग भएको छ । भारतीय कम्पनी टाटाले उत्पादन गरेको सो विद्युतीय सवारी नेपालको बाटो सुहाउँदो रहेको बताइन्छ ।

विद्युत्को आन्तरिक खपत बढाउनका लागि लागिपरेको प्राधिकरण आफैँले नमूनाका रुपमा विद्युतीय सवारी साधन चलाउन लागेको हो । आगामी मनसुनमा ठूलो मात्रामा बिजुली खेर जाने जोखिम उत्तिकै छ । नेपाल आयल निगमका अनुसार चालु आवको हालसम्म झन्डै रु दुई खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसलाई केही हदसम्म भए पनि घटाउने लक्ष्यका साथ सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धनमा विशेष चासोका साथ काम गरिरहेको छ ।

सडक विभागले पनि केही समयपहिले विद्युतीय सवारी साधन आयात गरेर प्रयोगमा ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि विद्युतीय सवारीको प्रयोग भइरहेको छ ।

बजारमा आधा घण्टामा नै द्रुत रुपमा चार्ज गर्न सकिने विद्युतीय सवारी साधनहरु उपलब्ध छन् । पछिल्ला दिनमा विद्युतीय मोटरसाइकल, स्कुटर उपलब्ध हुन थालेका छन् । अनौपचारिक अध्ययनअनुसार कूल १०० वटा सवारी साधन गुड्दा सहरी क्षेत्रमा ६ वटा विद्युतीय सवारी साधनको उपस्थिति देखिएको छ ।

वातावरण जोगाउन र मोटो रकम तिरेर आयात गरिने पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको प्रयोग र प्रवद्र्धनमा जोड दिन लागिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार