काठमाडौँका वडासदस्य सत्यालको ४६ वर्षको उमेरमा निधन

काठमाडौँ महानगरको वडा ३० का सदस्य निरजराज सत्यालको आइतबार निधन भएको छ । २०३३ साल असार ०८ गते काठमाडौँमा जन्मिएका सत्यालको आइतबार राती करिब १० बजे निधन भएको हो । मैतिदेवी सिद्धि मार्गमा बसोबास गर्दै आएका सत्याल गएको २ वर्षदेखि क्यान्सरको उपचार गराइरहेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरेर उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए ।

वडा ३० का सदस्य मनोजकुमार डंगोलकाअनुसार आज बिहान ८ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार सम्पन्न गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका सत्याल वैशाख २ गते नियमित जाँचका लागि अस्पताल गएका थिए । त्यसअघि चैत २२ गते आकस्मिक कक्षमा भर्ना भएर उपचार गराएका थिए। उनको खुट्टामा  ट्युमर देखिएपछि उपचार सुरु गरिएको थियो । अन्त्यमा यही ट्युमर उनको मृत्युको कारण बन्यो ।

सत्यालकाका पिताको निधन भएको १ वर्ष पुग्न बाँकी नै छ । उनी आमासँग मैतीदेवीमा बस्दै आएका थिए । वडासदस्य डंगोलकाअनुसार सत्यालले छोरीलाई मामाघरमा राखेका थिए। छोरीको स्याहारका लागि उनकी श्रीमती माइती घरमै थिइन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार