स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा ज्यान गुमाउने ५ जनाकै सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा डाँडाखर्क बस्ने ६५ वर्षीय वीरवहादुर दाला, ५४ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनको ७ महिनाको छोरा र ६१ वर्षीया कुलकुमारी कनौजे रहेका छन् ।
११ जना सवार ग १ ज ७३९९ नम्बरको जिप आज बिहान अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियाे । त्यसक्रममा ६ जना घाइते भएका छन्।
घाइते हुनेहरुमा ६० वर्षीय अंगवहादुर दाला, ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीया नविना सारु, १९ वर्षीया लक्ष्मी दाला र ६० वर्षीय दलबहादुर थापा रहेका छन्। उनीहरुको वालिङ अस्पताल र गण्डकी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।