आफ्नो मायाप्रेम ४९ वर्षको भएको भन्दै नेपालले भने- केपी ओलीसँग छुट्टिने पक्षमा छैन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा नरहेको बताएका छन् । शनिबार काठमाडौंको सभागृहमा आफू पक्षीय युवा संघ नेपालको कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले केपी ओलीसँगको आफ्नो मायाप्रेम ४८–४९ वर्ष लामो रहेको टिप्पणी गर्दै ओलीसँग छुट्टिने पक्षमा नरहेको बताएका हुन् ।

नेता नेपालले केपी ओलीले पार्टीमा बैठकको सामना गर्नै नचाहेकाले समस्या पैदा भएको बताए । त्यस्तै उनले पार्टीको पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरोदेखि केन्द्रीय कमिटीसम्म आफूहरुको बहुमत रहेको दावी गरे ।

आफू अल्पमतमा पर्ने भएपछि कसैलाई सूचना नै नदिएर ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर रातारात २३ जना केन्द्रीय सदस्य थपेको नेपालले आरोप लगााएका छन् । उनले आफुहरुको संघर्ष पदका लागि नभएको तर्क गरे । उनले आफु संसदीय दलको बोर्डमा नबस्ने घोषणा समेत गरेका छन् ।

वरिष्ठ नेता नेपालले नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै अदालतको फैसला गलत भएपनि बाध्य भएर लागु गर्नु परेको जिकिर गरेका छन् । एमाले अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई कारबाही गरेपछि सो समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार