रौतहटमा विवाह हुन लागेको एक घरमा करेन्ट लागेर महिलाको ज्यान गएको छ । भने ७ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा ३० वर्षीया सम्घरिया देवी रहेकी छिन् ।
दुर्गाभगवती गाउँपालिका १ स्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूर्वसन्ध्यामा शनिवार अबेर गाउँलेहरु भेला भएर नाचगान गरिरहेका थिए । गीत गाउने क्रममा माइकमा एकाएक करेन्ट प्रवाह हुँदा नरेश राउतकी सम्घरिया देवीलाईसहित ८ जना महिलालाई करेन्ट लागेको थियो ।
सुकदेवचोकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । करेन्ट लागेर घाइते हुनेहरुमा दुर्गाभगवती १ पिपरा बस्ने सिता देवी राउत बरै, अनिता देवी राउत , मन्तोरिया देवी , मुनि राउत , केवला देवी, शुसिला देवी र हिरिया देवी रहेको प्रहरीले जनाएको छ। तराई मधेसमा विवाह हुँदा झन्डै दुईसाता अघिदेखि छिमेकीहरु बिहे घरमा जम्मा भएर लगनको शुभगीत गाउने चलन रहेको छ।