काठमाडौं । नेपाल प्रहरीले प्रदेश १ का ३२१ मतदान स्थललाई अति संवेदनशील रहेको निश्कर्ष निकालेको छ । १ हजार ८७७ मतदानस्थल मध्ये ती मतदानस्थल अति संवेदनशील १ नम्बर प्रदेश प्रहरी कार्यालयको सुरक्षा विश्लेषण रहेको छ ।
प्रदेश १ का १४ वटै जिल्लास्थित जिल्ला सुरक्षा समितिबाट प्राप्त भएको प्रतिवेदनका आधारमा प्रदेश प्रहरीले मतदान स्थलको संवेदनशिलताको वर्गीकरण गरेको जनाइएको छ । सबैभन्दा बढी झापा जिल्लामा रहेका मतदान स्थल ‘अति संवेदनशील’ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले बताए ।
उनका अनुसार झापापछि मोरङ र सुनसरीको मतदान स्थलहरुलाई सुरक्षा प्रहरीले अति संवेदनशील स्थलका रुपमा विश्लेषण गरेको छ । यी जिल्लामा भारतसँग सीमाना जोडिएका स्थानीय तहका मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको हो । झापा जिल्लाको १४४ किलोमिटर सीमा भारतसँग जोडिएको त्यहाँका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले बताए । मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, गौरीगञ्ज गाउँपालिका, झापा गाउँपालिका र कचनकवल गाउँपालिका भारतसँग सीमा जोडिएका पालिका हुन् ।