एनएसएल: चितवनलाई ३–० ले हराउँदै धनगढी शीर्ष स्थानमा उक्लियो

धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ६४ औं मिनेटमा निशानको गोलबाट धनगढीले अग्रता बनायो । खेलको ६९ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा बुद्ध बलले गोल गर्दै धनगढीलाई ३–० को जित दिलाए ।

जितसँगै धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । धनगढीको यो दोस्रो जित हो । चितवनको यो पहिलो हार हो । चितवनले ३ खेलमा २ अंक जोडेको छ । चितवनले पहिलो खेलमा ललितपुरसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा चितवनले बुटवलसँग २–२ को बराबरी खेलेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार