रुपन्देहीमा एक महिलाको शंकास्पद मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डनको आफ्नै घरमा मृत अवस्था भेटिएकी हुन् ।

बिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएका थिए । त्यसको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।

अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइती पक्षको आरोप छ ।

अस्पताल पुर्‍याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएका थिए । अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार