सरकार लाचार मात्रै होइन गैरजिम्मेवार बन्यो: कांग्रेस

सङ्कटमा राज्यले नागरिकलाई ढाडस दिनुपर्ने कांग्रेसको भनाई

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्कटका बेला नागरिकलाई आग्रह गरिरहँदा हतास नभई विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सङ्कटमा ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैरजिम्मेवार प्रवृत्ति पुष्टि भएको बताएका छन् ।

कांग्रेसले युद्धस्तरमा कार्य गर्न र कोरोनाविरुद्धको सङ्घर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई आग्रह गरेको छ । शय्या, भेन्टिलेटर, अक्सिजन प्लान्ट र सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो, सङ्क्रमणको विस्तार कुन हदसम्म हुनसक्छ भन्ने विज्ञ अनुमान र विश्लेषण छ, त्यो हद सामना गर्न शय्यालगायत सरकारसँग बजेट, पूर्वाधार या इच्छाशक्ति के अभाव छ यसमा योजनाबद्ध र दृढ़ ढङ्गले प्रस्तुत हुन जरुरी रहेको भनी कांग्रेसले सुझाव दिएको छ ।

कांग्रेसले निजी क्षेत्रका अस्पताललाई कोरोनाविरुद्धको सङ्घर्षमा बृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने, राजनीतिक दल, सङ्घसंस्था र समाजसँंग सरकारले गरेको सहयोग अपेक्षा के हो, फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने, खोपको पछिल्लो खेप आयातमा अन्तरराष्ट्रिय पहलकदमी कति तीव्रतर छ भन्ने समग्र विषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्धरुपमा प्रस्तुत हुनुपर्ने जनाएको छ ।

सङ्कटका बेला हरेक नागरिकको अभिभावक राज्य हुनुपर्ने जनाउँदै प्रवक्ता शर्माले परिस्थितिको गम्भीरताबमोजिम कार्य गर्न सरकारलाई सजग गराएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार