आईसीयू अभावमा संक्रमितको छटपटिँदै मृत्यु

अस्पतालमा कोरोना संक्रमितले बेड भरिएपछि आईसियूको अभावमा विरामीले छटपटाउदैं ज्यान गुमाउनुपर्ने बाध्यता आईपरेको छ । राजधानी काठमाण्डौसँगै अहिले देशभरका सरकारी तथा निजी अस्पतालको बेडमा बिरामीले भरिएका छन । दैनिक हजारौको सङ्ख्यामा संक्रमित थपिने क्रम बढेको र निको हुनेको सङ्ख्या असाध्यै न्युन देखिएकाले अस्पतालमा बिरामीको चाप बढेको हो । नेपालमा नयाँ भेरियण्टको कोराना संक्रमण भित्रिएसँगै यसबाट मृत्यु हुनेको सङ्ख्या पनि उच्च देखिएको छ । पछिल्ला दिनमा दैनिक ३० जनाको मृत्यु हुन थालेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
दिनदिनै थपिएका कोरोना संक्रमित गम्भीर बिरामीका कारण सुदूरपश्चिमका स्वास्थ्य संस्थामा अक्सिजन र स्वास्थ्य सामग्री अभाव हुन थालेको छ ।

उपत्यकाका काठमाण्डौ ललितपुर र भक्तपुर तिनवटै जिल्लाका अस्पतालमा अक्सिजन प्रयाप्त मात्रामा भएपनि सिलिन्डर पर्याप्त नहुँदा कोरोना संक्रमितको उपचार गर्न समस्या भएको अस्पतालका चिकित्सकहरु बताउछन । ‘कोभिड १९’ संक्रमित भएर अस्पताल भर्ना भएका ९५ प्रतिशत बिरामीलाई अक्सिजनको आवश्यकता पर्छ । प्रयाप्त मात्रामा अक्सिजन पु¥याउन सकिएन भने उपचारमा समस्या पर्छ । उपत्यका तथा केही उपत्यका बाहिरका अस्पतालमा कोभिडका बिरामीलाई छुट्याइएका जनरल बेड, आईसीयू तथा भेन्टिलेटरमा बिरामीले खचाखच छन् । ती अधिकांश बिरामीलाई अक्सिजन दिनुपरेको छ । नयाँ बिरामी थपिए अक्सिजन दिन सक्ने अवस्था नभएको जानकारी धेरै अस्पतालले बताईसकेका छन ।
गत मंगलबार आईसीयू बेड अभावमा रूपन्देहीको देवदह–६ की कोरोना संक्रमित ४९ वर्षीया महिलाले लुम्बिनी अस्पतालको फिभर क्लिनिकमा छटपटाएरै ज्यान गुमाइन् । ‘बिहान ९ बजे अस्पताल पुर्‍याएका थियौं,’ देवदह नगर प्रमुख हीराबहादुर खत्रीले भने, ‘प्रादेशिक अस्पताल, भीम अस्पताल, क्रिमसन, काठमाडौंको ग्रान्डी, ह्याम्सलगायत सबै अस्पतालमा आईसीयूको खोजी गर्‍यौं, बेड छैन भन्ने जवाफ आयो । फिभर क्लिनिकमै ज्यान गयो ।’
यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाकी ६९ वर्षीया लक्ष्मी भण्डारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भयो । गाह्रो भएपछि बेलझुन्डीस्थित कोरोना विशेष अस्पताल पुर्‍याइयो । गेटसम्म पुर्‍याइँदा भित्र शय्या नभएको जानकारी गराइयो । दुई घण्टा कुर्दाकुर्दै बिहान ९ बजे उनको मृत्यु भयो । ‘समयमै उपचार पाए ज्यान बच्थ्यो,’ उनका छिमेकी वीरबल खड्काले भने, ‘समयमै अक्सिजन चढाउन सकिएन । अस्पतालको पेटीमै छटपटिएर ज्यान गयो ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार