कोरोना महामारी नियन्त्रण बाहिर, स्वास्थ्य प्रवक्ता भन्छन:हामीले केहि गर्न सक्ने अवस्था छैन

काठमाडौं उपत्यकाका प्रायः सबै कोभिड अस्पतालमा अहिले कोरोना संक्रमितको चाप थेगिनसक्नु छ । आफन्तको आकांक्षा पूरा गर्न चिकित्सकलाई हम्मे परिरहेको छ । सरकारी अस्पताल होस् वा निजी, सबैले आफ्नो क्षमताभन्दा माथि नै कोरोना संक्रमितको उपचार गरिरहेका छन् ।

काठमाडौंमा कोरोना संक्रमितलाई बेड मात्र नभई संक्रमितको उपचारमा प्रयोग हुने औषधिको पनि संकट पर्ने देखिएको छ । यही अनुपातमा संक्रमितको संख्या बढ्दै गए उपत्यकाका जेनेरल अस्पतालले कोरोना संक्रमितका लागि सबै बेड छुट्याए पनि धान्न कठिन छ ।

कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था पुगेको भनेपछि आम मानिसमा थप त्रास पैदा भएको छ  । मन्त्रालयले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यकासहित २२ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको भनेको छ। यसबाट महामारी रोक्न सरकार पूर्णत असफल मात्रै होईन हात उठाइसकेको अवस्था छ ।
शुक्रबार मात्रै मुलुकभर ५ हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजारभन्दा बढी काठमाडौं उपत्यकामा छन् । काठमाडौं जिल्लामा मात्रै दैनिक १५ सयभन्दा बढी कोरोनाभाइरस कोभिड–१९ संक्रमित भेटिन थालेका छन् । जिल्लाभित्र पनि काठमाडौं महानगरपालिका संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ ।

गत वर्ष कोरोनाको सुरुवात काठमाडौंबाटै भए पनि पहिलो लहर तराई क्षेत्रबाट फैलिएको थियो । त्यसको केही महिनापछि मात्रै काठमाडौंमा संक्रमणको ग्राफ उकालो लागेको थियो । यसपटक भने शुरुमै अति प्रभावित जिल्लाका रुपमा काठमाडौं परेको र संक्रमणको गति तिव्ररुपमा बढिरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलको भनाई छ ।

कोरोना महामारीको पहिलो लहरमा विशेष गरेर स्थलमार्ग हुँदै विभिन्न सीमा नाकाबाट उपत्यका प्रवेश गर्नेहरुले बढी संक्रमण भित्र्याएका थिए । यसपटक भने समुदायभित्रै नजानिँदो पाराले संक्रमण फैलिएको र ह्वात्तै बढेको डंगोल बताउँछन् । काठमाडौं महानगरपालिका ३२ वटा वडामा हालसम्म ३७ हजार २२२ जना कोरोना संक्रमित भइसकेका छन् ।

हाल काठमाडौंमा होम आइसोलेसनमा १ हजार ४४४ जना छन् । संस्थागत आइसोलेसनमा ३४ जना छन् । संक्रमणका कारण महानगरभित्र हालसम्म २६० जनाको मृत्यु भइसकेको छ । यहाँ सक्रिय संक्रमितको संख्या १ हजार ५७२ जना रहेको महानगरपालिका प्रवक्ता डंगोलले जानकारी दिए ।

कोरोना संक्रमण दर तिव्ररुपमा बढ्दा काठमाडौं उपत्यकाका अस्पतालहरुमा बिरामीले हत्तपत्त भर्ना पाउने अवस्था छैन । काठमाडौं उपत्यकाका अस्पतालहरुमा देशभरका विभिन्न ठाउँबाट संक्रमितहरु उपचारका लागि आउने गरेका छन् । संस्थागत आइसोेलेसनमा भन्दा होम आइसोलेसनमा बस्नेहरु काठमाडौैं महानगरपालिकामा बढिरहेको महानगरका प्रवक्ता डंगोल बताउँछन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको अपिलमा संक्रमण रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । कुनै पनि मार्गबाट देशविदेश जानेआउने वा आन्तरिकरबाह्य पर्यटनका लागि कहींकतै जाने काम पूर्ण रूपमा नगर्नरनगराउन पनि अपिल गरिएको छ । सार्वजनिक स्थलमा नजान र भीडभाड नगर्न पनि भनिएको छ ।

‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनुहुन अनुरोध छ,’ अपिलमा भनिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मन्त्रालयले जारी गरेका निर्देशन तथा आदेशको पालना सर्वसाधारणले नगरेकै कारण यो अवस्था आएको बताए । ‘यो अवस्था आयो भन्नु हाम्रो बाध्यता हो । हामीसँग अब धेरै विकल्प बाँकी छैन,’ उनले भने । ‘अब पनि लकडाउन र जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने झनै भयावह अवस्था आउन सक्छ,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार