भारतसँगका १३ नाकामात्रै सञ्‍चालन गर्ने र आन्तरिक उडान स्थगन गर्ने सीसीएमसीको सिफारिस

निषेधाज्ञा थप कडा बनाउनुपर्ने निस्कर्ष

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) को बैठकले १३ वटा नाका सञ्चालन गर्न सिफारिस गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले भारतसँग सञ्चालनमा रहेका ३५ मध्ये १३ वटा नाका मात्र सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले आन्तरिक उडान स्थगन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा एक चौथाईमात्र कर्मचारी राखेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको जनाइएको छ । बैठकले उद्योगका कर्मचारी तथा श्रमिकहरुलाई उद्योग स्थल भित्रै बसेर काम गर्न दिने निर्णय गरेको छ । आम जनताले परिस्थिति असाधरण भएपनि व्यवहार साधारण अवस्था जस्तो देखाएकोले मन्त्रिपरिषद्ले गरेका निर्णहरु कडाईका साथ कार्यान्वयन गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्देशन दिएको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

बैठकमा मन्त्रालय गत रुपमा बाँडिएका सवारी अनुमतिपत्रको दुरुपयोग बढेको भन्दै अनाधिकृत रुपमा वितरण गरिएका पास नियन्त्रण गर्ने निर्णय गरेको छ । क्वारेन्टीनको पालना नगर्ने विदेशीलाई डिपोर्ट गर्ने र स्वदेशीलाई कारबाही गर्ने निर्णय समेत सीसीएमसीले गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार