सदस्य निष्कासनबारे ध्यानाकर्षण पत्र लिएर निर्वाचन आयोग पुगे महन्त ठाकुर

लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नरहेको भन्दै अध्यक्ष ठाकुरले आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष ठाकुरले शुक्रबार निर्वाचन आयोगको कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गर्दै लुम्बिनी प्रदेश सभाको सचिवालयमा दर्ता भएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति निर्णय भनिएको पत्र अवैध र गैरकानुनी भएको दाबी गर्दै कारबाही नगर्न ध्यानाकर्षण गराएका हुन् । ‘पाटीको पत्र नै गैरकानुनी र अवैध भएकाले प्रदेश सभाले निकालेको सूचना पनि अवैध छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘त्यसैले कारबाहीलाई कार्यान्वयनमा नल्याउन आग्रह गरिएको छ ।’

ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् । प्रदेशसभाले बिहीबार सूचना जारी गर्दै जसपा सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्यबाट समेत निष्कासन भएको सूचना प्रकाशन गरेको थियो । जसपाका ४ सदस्य निष्कासन भएपछि अब २ सदस्य मात्र बाँकी रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार