खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । आइतबार भएको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो । ‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।
५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको इन्ज्युरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को जित निकालेको हो ।जितसँगै खुमलटार ‘बी’ लिगको दोस्रो स्थानमा रहदै शीर्ष डिभिजनमा उक्लिएको हो । यसअघि चर्च ब्वाइज ए डिभिजन लिगमा बढुवा भइ सकेको थियो ।