काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित गरेको छ । शनिबार र आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बिसौँ बैठकले स्थानीय निर्वाचन घोषणा पत्र–२०७८ को मस्यौदामा छलफल गरी सुझावसहित पारित गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए ।
बैठकले ११११ जनाको निर्वाचन परिचालन कमिटी गठन समेत गरेको छ । अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा केन्द्रीय कमिटी, तीनैवटा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरू, जनसङ्गठनका केन्द्रीय पदाधिकारीहरु समेत रहेको ११११ जनाको मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको भुसालको भनाइ छ ।
यस्तै महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, डा।विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गरिएको छ ।