निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको भनी दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको बताएको छ ।
निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यसबारे छलफल गर्न पदाधिकारीहरुको बैठक डाकेको हो ।
नवलपुर–१ बाट निर्वाचित कोइरालाले २०७० सालमा ३ करोड रुपैयाँ खर्च भएकामा २०७४ सालमा ६ करोड खर्च भएको बताएका थिए ।
नेपाल विद्यार्थी संघको इलाम काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भनेका थिए, ‘मैले नवलपरासी क्षेत्र नम्बर १ बाट तीन चोटी जितेँ । पहिलो चोटी मेरो खर्च ८० हजार थियो । दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा ६ करोड ।’
निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नवित्दै केही जिल्लाहरुबाट उल्लंघनका घटनाहरु दर्ता भएका छन् ।