प्युठानमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश भएको छ । स्थानीय तहको निर्वाचनका लागि विप्लव नेतृत्वको नेकपा सत्तारुढ गठबन्धनमा समावेश भएको हो ।
नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको छ ।
शुक्रबार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् । विप्लव नेतृत्वको नेकपाले जिल्लाका नौ स्थानीय तहमध्ये माण्डवी गाउँपालिकालाई आफ्नो प्रभाव क्षेत्रका रुपमा लिने गरेको छ ।