जनकपुरका निर्माण व्यवसायी बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महतोले शनिबार पत्रकार सम्मेलनमार्फत जनकपुरधामको मेयरमा स्वतन्त्रतर्फ उम्मेदवारी दिने घोषणा गरेका हुन् । जनकपुरधामको मेयरका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने महतो पहिलो व्यक्ति हुन्।
राजनीतिक दलबाट चुनाव जितेका प्रतिनिधिले स्थानीय तहलाई विकासभन्दा राजीनितिक अखडाको रूपमा प्रयोग गरेकाले ‘पार्टीको नेता हैन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौं’ नाराका साथ उनले उम्मेदवारी घोषणा गरे।
उम्मेदवारी घोषणासँगै निर्माण व्यवसाय आफूले सन्यास लिएको समेत उनले दाबी गरेका छन्। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालनिकट रहेका उनले मेयरका लागि कुनै प्रमुख दलबाट टिकट पाउने नभएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। महतो रमण कन्स्ट्रक्सनका सञ्चालक हुन् ।
एक वर्षअघि विभागले उक्त प्रालि तथा त्यसका सञ्चालकलाई २० करोड ८७ लाख रुपैयाँ बिगो र कैद मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।
धनुषा, रघुनाथपुर-४ को उक्त कम्पनीलाई देशभर ठेक्का लिएर काम अलपत्र पारेको अभियोगमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो।रमण कन्स्ट्रक्सनका मुख्य सञ्चालक महतो, उनका छोरा पवन र रमण हुन्।
उक्त कम्पतीले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली बिजक लिएर राजश्व चुहावट गरेको कसुर स्थापित भएपछि अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।
उनको कन्स्ट्रक्सनले पछिल्लो समय जयनगर(जनकपुर रेल्वे लाइनको निर्माण, जनकपुर नगर परिसरको ढल तथा बर्खाका पानीको व्यवस्थापन, सडक स्तरोन्नति, कमला नदी नियन्त्रण तटबन्धको निर्माण र जमुनी कटाह सिँचाइ आयोजना निर्माण लगायतका काम गरेका छन् ।
विकास एक मात्र एजेन्डा रहेकोले जनकपुरवासीले आफूलाई सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । महतोले मेयरको उम्मेदवारी घोषणाा गरिरहँदा उनका समर्थकहरुको उपस्थिति थियो ।