सुदूरपश्चिम सरकार पुनर्गठन, कांग्रेसबाट २ मन्त्री र १ राज्यमन्त्री थपिए
एकीकृत समाजवादीका मन्त्रीहरु फिर्ता बोलाइए
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित तीन जना सहभागी भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा शुक्रबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
कांग्रेस संसदीय दलका नेता रहेका रणबहादुर रावल, गोविन्द बोहरा मन्त्री भएका छन् भने टेकबहादुर रैका राज्यमन्त्री नियुक्त भएका छन् । रावल आन्तरिक मामिला तथा कानुन, बोहरा सामाजिक विकास र रैका सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका हुन् । यी मन्त्रालयमा यसअघि एकीकृत समाजवादीका मन्त्रीहरुको नेतृत्व थियो ।
नेकपा (एकीकृत समाजवादी)ले आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाएको छ । छोटो समयमै सरकारबाट बाहिरिनु परेकोमा नेकपा एसका सांसदहरुमा भने पार्टी नेतृत्वप्रति असन्तुष्टि देखिएको छ ।
यस्तै आर्थिक मामिला राज्यमन्त्री माया तामाङको ठाउँमा अमर साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा रहेकी चुनकुमारी चौधरीको ठाउँमा कुलवीर चौधरीलाई पठाइएको छ । निर्वाचन आचारसंहिता सुरु हुने भएकाले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई शुक्रबार राति प्रदेश प्रमुखले शपथ ग्रहण गराएका छन् ।
अब सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्री गरी चार जना माओवादी केन्द्रका, दुई मन्त्री र दुई राज्यमन्त्री गरी चार जना एकीकृत समाजवादी तथा दुई मन्त्री र एक राजमन्त्री गरी तीन जना कांग्रेसबाट प्रतिनिधित्व भएको छ ।