एयरपोर्टमा प्रिपेड ट्याक्सीको सिण्डिकेट, मनपरी भाडा, २६ वर्षदेखी ब्रम्हलुट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०५० सालमा २ सय ७ वटा ट्याक्सी हरियो नम्बर प्लेटमा दर्ता भयो।

२० वर्षपछि २०७० सालमा पुरानो ट्याक्सी त हटाइयो तर सोही नम्बर प्लेटमा नयाँ ट्याक्सी राखियो। ट्याक्सीको संख्या भने थपिएन।

अहिले साधारण मिटरवाला ट्याक्सीको भाडा चढ्ने बित्तिकै १४ रुपैयाँ छ र त्यसपछि प्रति किलोमिटर ३९ रुपैयाँ यातायात व्यवस्था विभागले कायम गरेको छ। तर हरियो नम्बर प्लेटमा ती ट्याक्सीमा प्रति किलोमिटर भाडा ७५ रुपैयाँ छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिन प्रतिदिन व्यस्त बन्दै गइरहेको छ। एउटा अन्तर्राष्ट्रिय विमानस्थलले नथेगेर पोखरा र भैरहवामा विमानस्थल बनिरहेका छन् भने निजगढमा पनि बन्ने चर्चा छ।

यात्रुको चापले विमानस्थलनै थप्न लागेको अवस्थामा ट्याक्सी संख्या भने २६ वर्ष अगाडिकै किन? यो विषयमा नियामक निकाय यातायात व्यवस्था विभाग पनि उदासिन देखिन्छ।

विमानस्थलमा ट्याक्सी थप्नुपर्ने कुरा आवश्यक भए पनि यातायात व्यवस्था विभागले मन्त्रालयलाई कुनै लिखित प्रस्ताव भने नपठाएको यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए।

‘विमानस्थलमा ट्याक्सी थप्नु जरूरी छ। हामीले बेलाबेलामा मौखिक कुरा राखेका पनि छौं तर लिखित प्रस्ताव भने दिएका छैनौं,’ उपाध्यायले भने।

विमानस्थलमा ट्याक्सी खोल्ने भन्ने कुरा त उठे पनि अहिलेसम्म प्रकृया भने अघि नबढेको उनले स्पष्ट पारे।

‘हामीले निणर्य गर्न मिल्दैन मन्त्रालयले सहमति लियो भने मात्र ट्याक्सी संख्या थप्न मिल्छ,’ उनले भने।

यात्रुहरू आवागमन हुने मूल गेट नजिक १ ठाउँमा १५ र १ ठाउँमा ५ गरी ‘विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’का २० वटा ट्याक्सी यात्रुको प्रतीक्षा गरेर बस्न पाउँछन् तर मिटर ट्याक्सीलाई भने १० वटाको लागि मात्र ठाउँ दिइएको छ त्यही पनि कुनापट्टि।

‘विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’ले मिटर ट्याक्सीलाई उपयुक्त स्थान नदिएर यात्रुप्रति अन्याय गरेको नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अजुर्न गौतमले बताए।

‘हाम्रो ट्याक्सीमा यात्रुहरू मिटरमा जान पाउनुहुन्छ तर एयरपोर्टकोमा त्यो सुविधा छैन। हाम्रा ट्याक्सीहरू रोक्ने ठाउँ पनि यात्रुले छिट्टै नदेख्ने ठाउँमा दिइएको छ,’ गौतमले  भने।

हालसम्म ट्याक्सी थप्नुपर्ने अवस्था नआएकोले नथपिएको विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडा बताउँछन्।

‘अहिले धेरै आफ्नो गाडीमा अउनुहुन्छ, त्यस्तै करिब २ सय मिटर ट्याक्सी र हाम्रो २ सय ७ वटा ट्याक्सी छ, करिब २ सयको हाराहारीमा प्राइभेट गाडीले समेत यात्रु ओसारिरहेका छन्,’ उनले भने, ‘यति गाडी हुँदा हाम्रो ट्याक्सीले ४/५ वटा टिपभन्दा पाउँदैन भने अरू थपियो भने के होला?’

गैरकानुनी रूपमा यात्रु ओसारी रहेका प्राइभेट गाडीलाई हटाइयो भने हरियो नम्बर प्लेटको ट्याक्सी थप्न सकिने उनले बताए।

हरियो नम्बर प्लेटको गाडी एयरपोर्टमा मात्र आस्रित भएको उनले स्पष्ट पारे।

‘हामीले बाहिरबाट यात्रु ल्याउन पाउँदैनौं, त्यस्तै हाम्रो गाडी १२ सयदेखि १६ सय सिसिसम्मको महँगो र आरामदायी छ त्यही भएर हाम्रो सेवा शुल्क महँगो हो,’ सिंखडाले सेतोपाटीसँग भने।

हरियो नम्बर प्लेटको ट्याक्सीमा मिटर हाल्नुपर्ने नीति नभएको कारण मिटर जडान नगरिएको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार