८२ बर्षीय कार्लोसको धौलागिरी आरोहण गर्ने सपना

२ चैत, बार्सिलोना । स्पेनका पर्वतारोही कार्लोस सोरिया अहिले ८२ बर्षका भए । म्याड्रिड नजिकै पेनेलारामा उनी हिजोआज पनि हिमाल आरोहणका लागि अभ्यास गरिरहेका हुन्छन् ।

उनी आफ्नो बाल्यकाल सम्झिँदै भन्छन्, ‘जिन्दगीका हरेक कुराहरु मैले कठिनताका साथ पाएँ । एकदमै चकचके बच्चा थिएँ । जे चाहना राख्थेँ त्यही पाउन खोज्थेँ । मैले चाहेको कुरा पर्वत नै थियो सायद, त्यही प्राप्त गरेँ । त्यसैले विश्वका उच्च शिखरहरु चढ्न सफल भएँ’ उनले भने ।

 

गरिव परिवारमा जन्मिएका उनले १४ बर्षको उमेरमा नै पर्वतलाई चिने । अहिले पनि कार्लोसको जोश, आँट र अठोट भने उस्तै छ । हिमालयमा टेकेपछि उनलाई आफू कहिल्यै बूढो जस्तो लाग्दैन । उनी अनुभवी आरोही हुन् जो अझै सक्रिय छन् ।

त्यसैले अहिलेसम्म पनि हिमाललाई चिन्न छोडेका छैनन् । उनले आउँदो अप्रिल ५ मा नेपालको धौलागिरी हिमाल आरोहण गर्ने अठोट लिएका छन् । गत वर्षनै धौलागिरी पुग्ने उनको योजनामा कोरोना भाइरस महामारी बाधक बन्यो ।

सबैभन्दा बढी उमेरमा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने कार्लोसको सपना छ । उक्त कीर्तिमान राख्न अब उनले धौलागिरी र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।

त्यसो त उनलाई धौलागिरी हिमाल नौलो होइन । सन् १९९८ मा उनको पहिलो प्रयास थियो । दुई दशकयता १० औं पटक आरोहण गर्दा पनि कार्लोस् धौलागिरीको शिखरमा पुग्न सकेका छैनन् । उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटर माथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ । यसपटक भने सफल हुनेमा उनी विश्वस्त छन् ।

उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला टेके । विश्वको सर्वोच्च शिखरमा पुग्ने सबैभन्दा वृद्ध व्यक्तिको रेकर्ड केही समय उनको नाममा पनि रह्यो र पछि तोडियो ।

दुई वर्षअघि उनको घुँडाको शल्यक्रिया भयो । तर त्यसपछि पनि उनी हिमाल चढ्न छाडेनन् । शारीरिक र मानसिक रुपमा आफू हिमाल चढ्न सक्षम रहेको कार्लोस बताउँछन् । ‘मलाई अहिलेसम्म उद्धार गर्नुपरेको छैन । आफ्नै भरमा उचाइमा पुगेँ र आफैं फर्किएँ । दुनियाँको सबै बल प्रयोग गरेर फेरि एकपटक प्रयास गर्न चाहन्छु’ उनी भन्छन् ।

युरोप नेपाल चेम्बर्स अफ कमर्स फर टुरिजमले ( ईएनसीसीटी) आयोजनामा शनिबार कार्लोससँग भर्चुअल संवाद आयोजना गरेको थियो । ‘म अहिले ८२ बर्षको भएँ ।

कोभिड महामारीमा यो जोखिमपूर्ण उमेर समूह हो । महामारीमा यो उमेर समूहका धेरैले ज्यान गुमाए । बाँकी दुई शिखरमा पुग्दा महामारीबाट मृत्यु भएका संसारभरका मानिसहरूलाई सम्मान प्रकट गर्न चाहन्छु’ कार्यक्रममा कार्लोसले भने ।

महामारीको यो बेलामा वृद्ध उमेरका मानिसलाई खतरा हुने भन्दै कतिपयले उनलाई कार्यक्रम स्थगित गर्न सुझाव दिएका छन् । तर ६८ बर्ष आरोहणमा नै बिताएकोले आफू नरोकिने उनी बताउँछन् । ‘दुनियाँले थाहा पाओस् कि यो उमेर समूहमा पनि धेरै साहसी काम गर्न सकिन्छ । जोश, आँट र अठोट भएमा सपना पूरा गर्न सकिन्छ’ उनले भने ।

हिमाल चढ्नजस्तै उनलाई खर्च जुटाउन पनि उत्तिकै चुनौती छ । अहिले उनि प्रायोजकलाई सहयोगको अपिल गरिरहेका छन् । तर कार्लोस भन्छन्, ‘प्रायोजक मिलोस् वा नमिलोस् तर धौलागिरी हिमाल चढ्नेछु । प्रायोजक बिना जानु पर्‍यो भने मैले दुख पाउनेछु । तर पनि ती मानिसहरुका लागि सम्मान प्रकट गरेर नै छाड्ने छु । अप्रिल ५ मा म एक्लै जान चाहन्न । मेरा दुई साथीहरु सितो र लुईससँगै जान चाहन्छु । आशा गर्छु कि हामी तिनैजना जान पाउनेछौं ।’

धौलागिरीको आहारोणपछि तिब्बतको सीसापाङ्मा हिमाल चढ्ने उनको योजनामा रहेको छ । यी दुवै हिमाल आरोहण गरेमा उनको सपना पूरा हुनेछ । उनी विश्वमा ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखरमा पुग्ने उनी सबैभन्दा बढी उमेरका व्यक्ति बन्नेछन्।

नेपाल मेरो दोस्रो घर

नेपाल आफ्नो दोस्रो घर भएको उनले बताए । ‘नेपाल स्वर्गको टुक्रा नै हो । काठमाडौं मात्र पुगेर हुँदैन । त्यो भन्दा बाहिर पनि पुगियो भनेमात्र नेपाल चिन्न सकिन्छ’ उनले भने । हिमाल आरोहणको आफ्नो अनुभव सुनाउँदै कार्लोसले हिमाल सफा राख्न नेपाल सरकारलाई सुझाव समेत दिए ।

उनले नेपाल र नेपालीहरुको सहयोगी भावनाको खुलेर प्रंशसा समेत गरे । नेपालमा हिमाल चढ्नका लागि अहिले सजिलो हुँदै गएको पनि कार्लोसले सुनाए ।

‘शेर्पाहरु धेरै अनुभवी र सहयोगी छन् । हिउँद याममा केटुजस्तो कठिन पर्वतारोहण सम्पन्न गर्ने नेपाली शेर्पाको साहस र बहादुरीको म प्रशंसा गर्छु । नेपाली आरोही टिमलाई बधाइ दिन चाहान्छु´ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार