एनएसएल फुटबल: धनगढी एफसी र ललितपुर सिटी एफसी बराबरीमा

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढी र ललितपुरले १–१ गोलको बराबरी खेलेका छन् ।

धनगढीका लागि ओलावाले आफिजले गोल गरे । ललितपुरका रन्जन विष्टले बराबरी गोल फर्काए । रोमान्चक बनेको खेलमा ललितपुरले बल पोसेसनमा पकड जमाएको थियो । तर, पेनाल्टीसहित पाएको मौकालाई ललितपुरले सदुपयोग गर्न सकेन । खेलको पाँचौ मिनेटमा अन्जन विष्टले गोल गरे । विमल रानाले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर तथा कप्तान किरण चेम्जोङले रोकेपछि आएको रिबाउन्डमा अन्जनले गोल गरेका थिए । तर, रेफ्रीले उनको गोललाई अफसाइड दिएको थियो ।

खेलको ४४ औं मिनेटमा ललितपुर पेनाल्टीमा गोल गर्न चुक्यो । उसका नुर्लानको जाहिदले पेनाल्टीमा गोल गर्न सकेनन् । खेलको ७२ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाए । ललितपुरका खेलाडीलाई लाग्दै आएको बलमा अनमार्क रहेका ओलावाले हेड मार्फत सहजै गोल गरे । तर, खेलको ७९ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा ल्याए ।

सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका रन्जनको प्रहार धनगढीका दिनेश राजवंशीलाई लाग्दै गोलमा परिणत भएको थियो । यो बराबरीपछि धनगढीले तीन खेलमा चार अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ । लतिलपुरको तीन खेलमा दुई अंक भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार