लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चारैजनाको सांसद पद खोसियो

लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा)का चार सांसदलाई पार्टीले कारवाही गरेको छ । जसपाले उनीहरूलाई पार्टीको साधारण सदस्य साथै सांसदबाट समेत निस्कासन गरेको पत्र आज प्रदेशसभा सचिवालयमा पठाएपछि सचिवालयले बिहीबार उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो ।

प्रदेशसभा सचिवालयको सूचना पार्टीमा बिहीबार टाँसिएको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो । आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले वैशाख ६ मा मन्त्री बनाएका थिए ।

जसपा नेपालको प्रदेशसभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ बमोजिमको सूचना प्रदेशसभा सचिवालयमा प्राप्त भएको भन्दै सचिवालयले प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम चारै जनालाई कारवाहीको व्यहोरा जानकारी गराइएको उल्लेख गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार