संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन अझै लड्नुको विकल्प छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन अझै लड्नुपर्ने र त्यसको विकल्प नभएको बताएका छन् । बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ‘इँटको जवाफ पत्थर’ ले दिनुपर्ने पनि बताए । माओवादी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले षड्यन्त्र गरिरहेको भन्दै उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने दावी गरे ।

‘जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नै पर्छ । देशपनि लडेरै बचाउने हो, संविधानपनि लडेरै बचाउने हो । लड्ने भनेको हतियार उठाउने होइन कसैले गुण्डागर्दी गर्छ भने इँटको जवाफ पत्थरले दिने भनेको हो’, प्रचण्डको भनाइ छ ।

बुधबारै चितवनको आँपटारीमा आयोजित दलितहरुलाई लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनबाट सुरु भएको लालपुर्जा वितरणको काम देशभर फैलने र सुकुम्वासी समस्या समाधान गर्ने बताए । कार्यक्रममा उनले दलित मात्रै नभएर सरकार सुकुम्बासी समस्या समाधान गर्नतर्फ लागिरहेको र दलितहरुले लालपूर्जा प्राप्त गरेको आजको दिन ऐतिहासिक भएको पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार