गुल्मीको मालिका गाउँपालिकामा स्थानीय तहको निर्वाचनको लागि पाँच दलीय गठबन्धनले उम्मेदवारहरुको टुंगो लगाएको छ ।मंगलबार गाउँपालिकाको वडा नं ४ ठूलिचौरमा आयोजित चुनावी घोषणा सभामा गठबन्धनले गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का देविराम अर्याललाई उम्मेदवार घोषणा गरिएको हो।
अर्याल माओवादी केन्द्रका गाउँपालिका अध्यक्षसमेत हुन्। अर्याल यसअघिको निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा उठेर पराजित भएका थिए। गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा चुनावी घोषणा सभा गरी आफूलाई साझा उम्मेदवार घोषणा गरेको अर्यालले बताए।
माओवादीबाट अर्याललाई अध्यक्षमा अगाडि सारिएपछि गाउँपालिका उपाध्यक्ष भने नेपाली कांग्रेसको भागमा परेको छ। उपाध्यक्षको लागि कांग्रेसका पालिका उपसभापति दीपक भण्डारी, वडा नम्बर १ का वडाध्यक्ष इन्द्र बहादुर घर्ती, पालिका सभापति उपेन्द्र अर्यालसमेत आकांक्षी बनेपछि कांग्रेसले उपाध्यक्षको नाम टुंगो लगाउन सकेको छैन्।
माओवादी केन्द्रको भागमा परेका दुई वटा वडामा वडा नम्बर ३ मा पार्टीका प्रदेश कमिटी सदस्यसमेत रहेका अर्जुन बुढा मगर र वडा नम्बर ८ मा पार्टीका गाउँ कमिटी सचिव सूर्यबहादुर जिसीलाई वडाध्यक्ष बनाउने तयारी गरेको छ।
आठ वडा रहेको मालिका गाउँपालिकामा माओवादी केन्द्रलाई पालिका अध्यक्षसहित दुई वडाअध्यक्ष भाग परेको अर्यालले बताए। त्यस्तै नेपाली कांग्रेसको भागमा उपाध्यक्षसहित ६ वटा वडा परेका छन्।