आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति प्रमुख प्रतिपक्षी दल एमाले असन्तुष्ट जनाएको छ ।
मंगलबार आयोगले ७९ दललाई आयोगमा बोलाई आचारसंहिता पालना गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न लगाएपनि एमाले हस्ताक्षर नगरी फर्किएको थियो । आयोगले बोलाएको सो कार्यक्रममा साना दलहरुले होहल्ला गरेकोले हस्ताक्षर गर्ने अवस्था नभएको बताएको एमालेले आचारसंहितामा केही त्रुटिहरु समेत रहेको बताएको छ ।
आचारसंहिता निर्माणका क्रममा आयोगले दलहरुसँग छलफल नगरेको र प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुअघि पनि दलहरूलाई आफ्नो कुरा राख्ने अवसर नदिएकोमा एमालेले आपत्ति जनाएको हो ।
एमालेका कानुन विभाग प्रमुख रमेश बडालले आयोगले जारी गरेको आचारसंहितामा राजनीतिक दल र तिनीहरूका प्रतिनिधिले चुनाव प्रचार प्रसार गर्न पाइँदैन,बिचार ब्यक्त गर्न पाइँदैन भनेर लेखेको भन्दै उक्त प्रावधान ठीक नभएको एमाले नेताहरुको भनाइ छ ।