कांग्रेस कार्यकर्ताले गरे आफ्नै पार्टीका गाउँपालिका अध्यक्षमाथि आक्रमण

धादिङमा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित खनियावास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आफ्नै पार्टीका कार्यकर्ताहरूले आक्रमण गरेका हुन्।

कांग्रेसका पूर्वक्षेत्रीय सभापति राजु पाख्रीनलगायतको समूहले गाउँपालिका अध्यक्ष तामाङमाथि आक्रमण गरेको बताइएको छ ।

स्थानीय चुनावको उम्मेदवारबारे भएको छलफलमा विवाद हुदाँ तामाङमाथि मंगलबार बेलुका आक्रमण भएको हो।

उनको अनुहारमा चोट लागेको छ । ‘टिकटको विषयमा कुराकानी भइरहेको थियो, मैले पनि केही कुरा राख्दा आक्रमण गरे,’ अध्यक्ष तामाङले भने, ‘मलाई कचौराले हानेका हुन्। कुरा राख्दा आक्रमण होला भन्ने मैले सोचेकै थिइनँ।’

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले कांग्रेसकै नेता पाख्रीनलाई नियन्त्रणमा लिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार