नापी कार्यालय, चावहिल अन्तर्गतको १ नं नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई १ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
केसी र भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटिई गएको टोलीले १ लाख रुपैयाँ लिइसकेको अवस्थामा सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त घुस रकमसहित ललितपुर महानगरपालिका वडा नं. ५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।