माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

म्याग्दी – सामान्यतयाः चैत र वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो हप्तासम्म आइपुग्दा स्थानीय जङ्गलका लालीगुराँस ओइलाएर झर्न लागेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो । मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैतरवैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघदेखि नै फुलेपछि यहाँका जङ्गल र लेकाली क्षेत्रहरू समयअघि नै राताम्ये भएका थिए । समयअघि फुलेर राताम्यै भएका लालीगुराँस हेर्न, तस्बिर खिच्न, टिकटक बनाउन र रमाउन लेकाली क्षेत्रमा आन्तरिक पर्यटकहरूको भिड लागेको थियो ।

पछिल्लो समयमा जलवायु परिवर्तनका कारण वातावरणमा अस्वाभाविक परिवर्तन देखिँदा बाली पाक्ने, जङ्गली फलहरू पाक्ने र गुराँसको फूल फुल्ने समयमा पनि परिवर्तन आएको छ । जिल्लाको उत्तरी क्षेत्र घोडेपानी, शिख, घार, राम्चे, नारच्याङलगायत क्षेत्रमा केही ढिलो गरी फागुनको पहिलो हप्तादेखि नै लालीगुराँस फुलेको छ भने पश्चिमी क्षेत्रका धेरैजसो जङ्गलमा पुसको अन्तिम हप्तादेखि नै फुल्न सुरु गरेको लालीगुराँस अहिले ओइलाउँदै गएर झर्न थालिसकेको स्थानीयवासीले बताए ।

मौसम परिवर्तनका कारण यस वर्ष चाँडै गुराँस फुलेपछि फुल्ने समयमा (चैत–वैशाख) ओइलाउन थालेको भकिम्लीका मनबहादुर श्रीषले बताउनुभयो । पश्चिमी क्षेत्रमा लालीगुराँस फुलेर ओइलाउँदै झर्न सुरु गरेपछि हेर्नेहरूको घोडेपानी क्षेत्रमा भिड लाग्न सुरु भएको पर्यटन व्यवसायीहरूले बताए । घोडेपानीका जङ्गलमा ढकमक्क गुराँस फुलेपछि आन्तरिक पर्यटकको भिड लागेको थियो । ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द बनाउने गरेको छ ।

विश्वमा पाइने लालीगुराँसका ४२ प्रजातिमध्ये म्याग्दीका जङ्गलमा १६ प्रजातिका गुराँस पाइन्छन् भने नेपालमा ३२ प्रजातिका गुराँस पाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ । फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य याम हो । गुराँस फुल्ने याम सुरु भएसँगै घोडेपानी क्षेत्र रातै भएको देख्न सकिन्छ । गुराँस फुल्न सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको स्थानीय होटल व्यवसायीहरूले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार