नागढुङगा–मुग्लिन सडक निर्माण वैशाखमा सुरु हुने

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ । सो सडक वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने गरी तयारी भएको छ ।

सो सडकमा तीन प्याकेजमा काम हुन लागेको बताइएको छ । तीन प्याकेजमध्ये अहिले नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुङ्गा–नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए । यससँगै अहिले परामर्शदाताको पनि छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ । नागढुङ्गा–नौबिसे सडकको लम्बाई १२ किमी र नौबिसे–मलेखु साढे ४३ किमी हो । उनले भने, “दुबै सडकको निर्माण सँगसँगै अघि बढाइनेछ ।”

नागढुङ्गाबाट–नौबिसे र नौबिसे–मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ । यसका लागि नेपाली र अन्तरराष्ट्रिय दुबै निर्माण कम्पनीले आबेदन हालेका छन् । नागढुङगाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताए । तेस्रो ठेक्काका रुपमा रहेको मलेखुबाट मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको प्रमुख कार्कीले बताए । ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैङ्कलाई पठाएको थियो । उनले भने, “अहिले विश्व बैङ्कले त्यसमा अध्ययन गरिरहेको छ, सकिएपछि ठेक्कामा जान सकिन्छ ।”

हाल प्रक्रियामा रहेका दुई ठेक्का वैशाख १५ सम्ममा प्रक्रियामा जानसक्ने प्रमुख कार्कीले बताए । ठेक्का सम्झौता पहिले कसैको गुनासोका लागि आशयपत्र निकालिएको छ । त्यो नभएपछि सम्झौता गर्न सकिने उनले बताए । अबको केही समयमा नै वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता गर्ने उनले बताए ।

सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भएपनि बजार ठाउँमा चार लेन हुनेछ । विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनसक्ने प्रमुख कार्कीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार