नेकपा एमालेका महासचिव शंकर पोख्रेलले स्थानीय तहको चुनावमा एमाले एक्लै लड्ने बताएका छन् ।उनले सत्तारुढ गठबन्धनका दलले एमालेले राजवादी दलसँग तालमेल हुँदेछ भनेर भ्रम फैलाएको आरोप लगाए ।
‘जो एक्लै उठ्ने आँट गर्दैन्, उनीहरूले यस किसिमका भ्रम फैलाएका छन्’ उनले भने, ‘एमाले एक्लै उठ्न सक्छ, यसमा कुनै समस्या छैन ।’
प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा एमालेले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने बताएका हुन् ।
राप्रपा, सिके राउतका दलसँगको तालमेलको सम्भवना के छ भन्ने पत्रकारको जिज्ञाशामा उनले एमालेले पार्टीगत तालमेलको पक्षमा नरहेको बताए ।
उनले एमालेले नेताभन्दा पनि विभिन्न दलमा कार्याकर्ताहरुलाई जोड्दै बलियो शक्ति निर्माण गर्दै अगाडि बढ्ने बताए । महासचिव पोख्रेलले अहिलेको पाँच दलीय गठबन्धन वामपन्थी आन्दोलन र लोकतन्त्र मान्यताको विरुद्धमा भएको टिप्पणी समेत गरे । उनले कांग्रेससँगको तालमेल जनताले दिएको जनादेशको विपरित भएको बताए ।
‘प्रचण्ड र माधवरहित वाम एकताको पक्षमा एमाले छ’ उनल भने, ‘माधव नेपालका कार्यकर्तालाई गोलवद्ध हुँदै ठूलो शक्ति निर्माण गर्न आह्वान पनि गरिरहेका छौं ।’