सत्तागठबन्धनको बैठक : स्थानीय चुनावको लागि पौडेलको नेतृत्वमा समिति

सत्तारूढ गठबन्धनले आसन्न स्थानीय चुनावको तयारी तथा अनुगमनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनाउने भएको छ ।

आज बिहान ९ बजेदेखि बालुवाटारमा सत्तागठबन्धनको बैठक बसेको थियो। बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए।

आजको बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावका लागि तयारी तथा तालमेलको अनुगमन गर्ने समिति गठन गरेको छ। बैठकमा सहभागी रहेका पौडेलको नेतृत्वमा पाँच दलबाट दुईदुई जना सदस्य रहने गरी समिति गठन गरिएको हो।

साथै बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे समीक्षा भएको थियो। समग्रमा भारत भ्रमण सफल भएको निष्कर्ष निकालिएको बैठकमा सहभागी एक नेताले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार