सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गरेर स्वदेश फर्किएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।

बैठकमा आगामी स्थानीय तह निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे थप छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । यसअघि बसेको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेयता प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे बहस सुरु भएको छ ।

गठबन्धनका दलहरूबीच जाजरकोट, अछाम, तनहुँ, चितवन, नुवाकोट, धनकुटा, कास्की, कञ्चनपुर, अर्घाखाँची, बागलुङ, तेह्रथुमलगायत जिल्लामा निर्वाचनमा मिलेर जाने सहमति भैसकेको छ तर, तालमेलको स्पष्ट खाका नबनिसकेका कारण जिल्लास्तरबाट भइरहेका गठबन्धन गर्ने निर्णय कार्यान्वयनमा अघि बढ्न सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार