मुगु जिल्लाको ताल्चामा अवस्थित रारा विमानस्थल निजी हवाई जहाज नचल्दा केही दिन यता देखि यात्रु लाई सकस भएको छ । रारा विमानस्थलमा नियमित रूपमा उडान भर्दै आई रहेका निजी जहाजहरूले उडान रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सकस भएको हो ।
मुगुमा पछिल्लो समय तारा एयर , समिट एयर , र सीता एयरले नेपालगन्ज विमानस्थल बाट रारा विमानस्थलका लागि दैनिक रूपमा उडान भर्दै आई रहेका थिए । सो जहाज मुगुमा उडान नभरी पूर्व तिर उडान भर्नाले यहाँका यात्रु लाई सास्ती भएको बताइएको छ । प्रत्येक दिनमा चारदेखि पाँच पटक सम्म उडान भर्दै आई रहेका थिए ।
जिल्लामा केही दिन यता देखि नेपाल वायुसेवा निगमको जहाजले हप्तामा चार पटक उडान भर्दे आई रहेको छ । त्यसमा पनि जटिल खालका बिरामी लगायत विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ ।
रारा विमानस्थलमा नेपाल वायुसेवाले हप्तामा आइतबार , मङ्गलवार , शुक्रवार र शनिबार मात्र उडान भर्दे आई रहेको रारा विमानस्थल ताल्चाका कार्यलय प्रमुख सन्तोष कुमार गौतमले बताए । रारा विमानस्थलमा उडान कम भए पछि सहजै रूपमा टिकट पाउन मुस्किल छ ।
जिल्ला प्रशासन कार्यालय मुगुले नेपाल वायुसेवामा हरेक उडानमा दुई वटा सिट अत्यावश्यक कर्मचारी र बिरामीलाई सुरक्षित गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
उनका अनुसार पछिल्लो समय कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा पर्यटक बढ्न थाले पछि नेपाल वायुसेवाको चार्टर उडान भएकाले ल्याउने उता लैजाने अवस्था सिर्जना भएको छ ।