भरतपुरको मेयर नछाड्ने पक्षमा काँग्रेस, माओवादीलाई संकट

सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।बैठकपछि सार्वजनिक प्रेस विज्ञप्तिमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

यता पार्टी कार्यालय कमलनगरमा आइबार बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर प्रमुखमा दाबी गर्ने निर्णय गरेको छ । महानगरको प्रमुख पदमा कांग्रेसकै उमेदवार रहनेगरी तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । ‘नेपाली कांग्रेस चितवनको आजको बैठकको निर्णयको बटम लाइन भनेको महानगर प्रमुख नेपाली कांग्रेसको उमेदवार हुने हो’, उनले भने । यसको मतलब महानगर प्रमुखको उमेदवारमा दाबी गर्दै आएको गठबन्धनको अर्काे दल नेकपा (माओवादी केन्द्र)लाई कांग्रेसले नछाड्ने भएको छ ।

माओवादी केन्द्रले महानगरको मेयरमा पुनः रेनु दाहाललाई नै उठाउने तयारी गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महानगरको प्रमुखमा आफ्नो पार्टीको उमेदवारलाई सहयोग गर्नेगरी केन्द्रीय स्तरबाटै चुनावी तालमेल गर्ने कोशिस गरिरहेका छन् । यद्यपी कांग्रेसको केन्द्रीय समितिले पनि स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरिसकेको छ ।

चितवन कांग्रेस भने यस पटक कुनै पनि हालतमा महानगरको प्रमुखमा माओवादीलाई सहयोग नगर्ने पक्षमा छ । अन्य पालिकामा माओवादीसँग तालमेल गर्ने भएपनि महानगर प्रमुखको उमेदवारमा कांग्रेसले नछाड्ने निर्णय गरिएको खनालले बताए ।

‘महानगर प्रमुखमा कांग्रेसको उमेदवार रहनेगरी गठबन्धनका दलबीच सबै पालिकामा तालमेल गरी अघि बढ्ने निर्णय भएको छ’, उनले भने । अन्य पालिकाको प्रमुखमा भने स्थानीय आवश्यकताका आधारमा गठबन्धनका दलबीच तालमेल हुने उनले बताए ।

माओवादीले दावी गरेको भरतपुर महानगरको मेयर कांग्रेसले नछाड्ने

चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने गठबन्धनको निर्णय

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार