माटाका कोठीका अभावमा किसानलाई चैती बाली थन्क्याउन समस्या

चैतेबाली धमाधम काटिन थालेपछि जिल्लाको भङ्गाहा नगरपालिका–४ पलार बस्तीका चौठी बाँतरलाई बाली थन्क्याउने चिन्ताले पिरोलिएको छ । गहुँ, रहर, चना, मसुरोसहितका चैते बाली धमाधम काटिन थालिएसँगै यी बाली कसरी सुरक्षित राख्ने कुराले उनलाई पिरलेको हो । पछिल्लो समयमा गाउँघरतिर चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र रहरलगायतका खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोठी बन्न लगभग छाडिसकेको छ । यसबाट किसानमा बाली सुरक्षित भण्डारण गर्नेबारे चिन्ता देखिएको हो ।

अन्नपात सुरक्षित भण्डारणका लागि विगतमा घरघरै माटाका कोठी बनाइन्थे । यसको अभावमा चाँडै घुन लाग्ने खाद्यान्न सुरक्षित भण्डारणमा समस्या भएको किसानको भनाइ छ । “प्रत्येक घर÷घरमा माटाका कोठी (भकारी) मा बाली राखेपछि घुन लाग्दैनथ्यो” ८० वर्षीय बाँतर भने “अब पुराना कोठी फुटेर गए, नयाँ बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ ।”

लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ । “माटाका कोठीमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर न पोखिने चिन्ता ” भङ्गाहा–४ कै रामनगर बस्तीकी इजोतीया चौधरीले भने, “अब त घरमै आफै खान राखिने खाद्यान्न घुनबाट बचाउन पनि जानाजान विषादि मिसाउन पर्ने भयो ।” चामल, चना, रहर, गहुँ र मुसुरोजस्ता चाँडै घुन लाग्ने खाद्यान्न अब माटाका कोठी बन्न छाडेपछि विषादि मिसाएर राख्नु परेको किसानको गुनासो छ । “हेर्नोस न जानाजान विष खान तयार छौं” उनले भने, “माटाका कोठीमा यी खाद्यान्न राखेर माटाकै ढक्कनले घ्याप्प छोपेपछि वर्षौंसम्म जस्ताको त्यस्तै रहन्थ्यो, खै अबका छोरी, बुहारी त के हो कोठी भन्या सोध्न थाल्याछन् , खै के भनौँ ”

मिथिला क्षेत्रमा खास गरी थारु समुदायमा माटाका कोठी बनाउने कुरा कौशलको रुपमा लिने गरिन्थ्यो । माटाका कोठी खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुनसँगै यो बनाउने कुरा कौशल र थारु संस्कृतिसँग जोडिदा बुहारी छनौट गर्दा कन्यार्थीले यो सीपबारे सोधपुछ गर्ने गरेका गौशाला नगरपालिकाको बिशरपुरका बासिन्दा अमरेन्द्र चौधरी थारु बताए । “हाम्रो जातिमा दुईदशक पहिलेसम्म जतिसुकै सम्पन्न भए पनि कन्या खोजिदा तिनले माटाका कोठी बनाउन, काँस एक प्रकारको वनस्पति)को गुवोबाट ढकी बनाउन जानेका छन् कि छैनन् सोधिन्थ्यो”, उनले भने, “अब त ती सबै कुरा हराइ सके, अनि के कोठी देखिनु ?” माटाका कोठी बन्न छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा पनि ओझलिएको उनकाे थप भनाइ छ ।

कोठी बन्न छाडेपछि सघन थारु बसोबासका जिल्लाका भङ्गाहा, धर्मपुर, भीमगढ, बखरी, मेघरोल, मझौलिया, बनरा, गोरहन्ना, हरखपुर, विशरपुर, पर्सा, निगौल र रजखोरसहितका बस्तीका थारु पनि अब खाद्यान्न थन्क्याउन प्लाष्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन् । “के गर्नु बाबु, आफ्ना नौ नाडि बसी हाले” बखरी थारु बस्तीकी पारोवती राय भने “अबका छोरी, बुहारीले यसौ सिकौ भन्ने चासो नै देखाउँदैनन्, अब केही वर्षपछि त कोठी भनेर देखाउने कुरा के रहला र ?” पछिल्लो पुस्ताको अरुचीले अब हस्तसीपको खास नमुना मानिने कोठी बन्न छोडेको कुरामा आम थारु सहमत देखिन्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार