माओवादीसँग कुनैपनि हालतम गठबन्धन हुँदैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदा खाँदाको सरकार ढाल्ने शक्तिसँग गठबन्धनको संभावना नरहेको बताएका छन्।भरतपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले एमालेसँग गठबन्धनका लागि छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको बताए।

‘जसले पार्टी विभाजन गरेर हुँदा खाँदाको कम्युनिष्ट सरकार ढालेर अपराध कर्म गर्‍यो त्यो शक्तिसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘दुई पार्टीका नेताहरुका बीचमा भेटघाट हुन सक्छ, भेट हुँदा राजनीतिक विषयमा कुरा, समीक्षा हुन सक्छ तर गठबन्धनका लागि छलफल चलेको भन्ने कुरामा सत्यता छैन।’

उनले प्रचण्डले लगाउने कुनै पनि छलाङको विषयमा एमाले जानकार रहेकाले त्यसबाट प्रभावित नहुने बताए। उनले प्रचण्डको पार्टी कब्जाको मानसिकताका कारण पार्टी फुटेको दाबी गरेका थिए।

पोखरेलले एमालेले स्थानीय तहको निर्वाचनका लागि कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति लिएको बताए। ‘स्थानीय स्तरमा स्थानीय आवश्यकताअनुसार कतै तालमेल हुनसक्ला तर गठबन्धन गरेर जाने नीति पार्टीको छैन,’ उनले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार