होटल आनन्दसँगको सम्झौता रद्द

पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रा.लिलाई भाडामा दिएको नेपाल–भारत मैत्री पशुपति धर्मशालाको करार सम्झौता रद्द गरेको छ। होटल सञ्चालन गर्न कोष र प्रालीबीच सम्झौता भएको थियो। तर त्यसमा भएका शर्तहरूको पालना नगरेको हुँदा सम्झौता रद्द गरिएको कोषले जनाएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकाशित गरी सम्झौता रद्द भएको जनाएको छ।

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मशाला खाली गर्न बिहीबार पत्राचार गरेको थियो।

गत १ फागुनमा कोषका सदस्यसचिव थापा नेतृत्वको समितिले बतास अर्गनाइजेसनलाई ३५ दिने स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरण नआएपछि थापा नेतृत्वकै टोली बिहीबार अपराह्न सम्झौता रद्दको पत्र बोकेर धर्मशाला पुगेको थियो । टोलीमा कोषका अन्य पदाधिकारी, प्रशासन र प्रहरी अधिकारी थिए । होटेल चलिरहेकै समयमा धर्मशाला पुगे पनि बतासका कर्मचारीले पत्र नबुझेपछि राति ९ बजेतिर सरकारी टोली फर्किएको थियो ।

धर्मशालाबाटै कोषका सदस्यसचिव थापाले अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासलाई फोन गरेर पत्र बुझ्न आग्रह गरेका थिए । तर, बतासले भने उच्च अदालत पाटनमा मुद्दा विचाराधीन रहेको प्रतिक्रिया दिएका थिए । उच्चले आगामी सोमबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । पर्यटन मन्त्रालयले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा २३ पुसमा गठन गरेको छानबिन समितिले धर्मशालालाई नियम मिचेर होटेल बनाउने सम्झौता गरिएकाले भंग गर्न सिफारिस गर्दै ३ माघमा प्रतिवेदन बुझाएको थियो ।

पर्यटनमन्त्री प्रेम आलेको अध्यक्षतामा ११ माघमा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले उक्त समितिको प्रतिवेदन अनुमोदन गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको थियोे । ती सबै प्रक्रिया पूरा गर्न कोषका सदस्यसचिव थापाको नेतृत्वमा समिति गठन गरिएको थियो । जसमा कोषका सञ्चालक परिषद् सदस्य देवीप्रसाद बराल र पर्यटन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डे सदस्य रहेका थिए । यो समितिले होटेल आनन्दसँग ३५ दिने स्पष्टीकरण सोधे पनि जवाफ नै नआएपछि परिषद्को गत सोमबारको बैठकले सम्झौता रद्दको पत्र बुझाएर सिल गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार