सिंहदरबारमा कार्यरत कर्मचारीलाई रक्तचाप र ग्यास्ट्रिकको समस्या

सिंहदरबारभित्र कार्यरत अधिकांश कर्मचारीलाई उच्च रक्तचाप र ग्यास्ट्रिकको स्वास्थ्य समस्या देखिएको छ । सिंहदरबारभित्रै रहेको ‘हेल्थ डेक्स’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचाप र ग्यास्ट्रिकको समस्या देखिएको हो ।
यस्तै केही कर्मचारीमा मधुमेहको समस्या पनि देखिएको छ ।

गत चैत ६ गते देखि सिंहदरबार परिसरभित्र वीर अस्पतालले वाकालीन हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । कर्मचारीमा कामको चाप र तनावले समस्या भएको हुन सक्ने बताइएको छ ।

त्यस्तै ढाड दुख्ने, टाउको दुखेको भन्दै धेरै कर्मचारीहरू हेल्थ डेस्कमा पुगेको हेल्थ डेस्कका प्रमुख वरिष्ठ स्वास्थ्यकर्मी दीपक मुडभरीले बताए । सिंहदरबारभित्र करिब सात हजार कर्मचारी छन् । सिंहदरबारका कर्मचारीमा तनाव, ग्यास्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्नेजस्ता समस्या बढी देखिएको छ । महिला कर्मचारीमा आँखा र टाउको दुख्ने समस्या बढी छ भने पुरुषमा तनाव, ग्यास्ट्रिक र प्रेसरको समस्या बढी देखिएको छ ।

यस्तै हेल्थ डेस्कमा दैनिक २०–२५ जना कर्मचारीहरू स्वास्थ्यमा समस्या आएको भन्दै परीक्षण गर्न पुगेका थिए । परीक्षण गराउन आउनेमध्ये दैनिक चार–पाँचजनालाई वीर अस्पताल तथा निजामती अस्पतालमा उपचारको लागि रिफर गर्ने गरिएको छ । हेल्थ डेस्कले दैनिक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य सेवा दिन सिंहदबारभित्र कार्यरत कर्मचारीहरूलाई आकस्मिक स्वास्थ्य सेवा दिने गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार