नोबेल अस्पतालका चिकित्सक मृत्यु प्रकरण : शव धरान लगियो

विराटनगर–४ मा मृत अवस्थामा फेला परेका नोबेल शिक्षण अस्पतालका चिकित्सक विजय यादवको शव पोस्टमार्टका लागि धरान लगिएको छ । नोबेलको अर्थो विभागमा कार्यरत चिकित्सक यादव उनकै डेरा बसेको घरको कम्पाउन्डभित्र शनिबार बिहान मृत भेटिएका थिए ।

शवको पोस्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको बताइएको छ । परिवारका सदस्य र आफन्तले आग्रहमा कोसी अस्पतालबाट आज (आइतबार) शव धरान लगिएको हो। कोसी अस्पतालमा फरेन्सिक चिकित्सक उपलब्ध हुन नसक्दा शनिबार यहाँ पोस्टमार्टम हुन नसकेको हो ।

शनिबार अस्पताल अगाडि प्रेम बस्नेतको घरमा डेरा गरेर बस्दै आएका यादवको शव घरको गेटमा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । मुखबाट रगत निस्किएको र हातखुट्टामा चोट लागेको अवस्थामा यादवको शव भेटिएको थियो ।

डेरादेखि वरपरको सडकमा रगतको टाटा देखिएको थियो । मृतक यादव बंगलादेशबाट एमबीबीएस गरेका यादव विगत तीन वर्षदेखि नोबेलमा कार्यरत थिए । यादव शुत्रबार नोबेल अस्पतालले पहाडी जिल्लामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहभागी भएर फर्किएका थिए । उनी साथीहरुसँग शुक्रबार साँझ एयरपोर्ट लाइनको कृष्ण क्याफेमा खाजा खाएर फर्केका थिए ।

नोबेल अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालको होडजोर्नी तथा नशा विभागका डाक्टर विजय यादवको मृत्यु घटनाको निष्पक्ष छानबिन हुनु पर्ने माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार