आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, के खुल्छ, के बन्द ?

काठमाडौँ उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ । सोमबार बसेको उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले आजदेखि निषेधाज्ञा लगाउने निर्णय भएको थियो ।

सोमबार नै तीन जिल्ला अधिकारीहरुद्वारा जारी छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ । सूचनाअनुसार तीन जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्ले १५ दिन भनेपनि तत्काललाई ७ दिने सूचना मात्रै जारी भएको हो ।

योसँगै उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द भएका छन् । अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । यस्तै डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछन् । सो क्षेत्रमा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् । विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न पाइने छ । विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सबन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले दिने पास लिएर सञ्चालन गर्न पाइने छ ।

अस्पताल आउने–जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका व्यक्तिहरुलाई पनि प्रमुख जिल्ला अधिकारीले दिएको पासका आधारमा गाडी प्रयोग गर्न पाइने छ ।

केके गर्न पाइँदैन ?

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न निषेधाज्ञा अवधिभर रोक लगाइएको छ ।

अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन चलाउन र अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल, व्यवसायबाहेक अन्य पसल, व्यवसाय सञ्चालन पाइने छैन ।

अघिल्लो वर्ष रेष्टुरेन्टहरुले ‘टेकअवे’ सेवा दिन पाउने व्यवस्था भए पनि यसपालि जिल्ला प्रशासन कार्यालयहरूको आदेशमा यो विषयबारे केही उल्लेख गरिएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार