ओली निद्रामै बर्बराउन थालिसके, बेहोस हुन बेर छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन चुनावसम्म जाने भएपछि एमाले अध्यक्ष निद्रामै बर्बराउन थालिसकेको टिप्पणी गरेका छन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीमा जनलहर बढेको छ। हामी नीति र सिद्धान्तअनुसार अगाडि बढिरहेका छौँ। ओली सबै ढंगले प्रतिगमनतिर लागिरहेका छन्। सबै ध्वस्त पार्नतिर लागेका छन्।’

एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै उनले भने, ‘केही मान्छेहरू दिमाग खुस्केको जस्तो दिनदिनै जे मनमा लाग्यो त्यही बोलेका छन्, बकबक गरिरहेका छन्। त्योबाहेक अरू केही काम छैन। हामी त्यो प्रवृत्ति सिक्दैनौँ। हामी सुसंस्कार दिन्छौँ।’

आफूहरूले मुलुकको राजनीतिलाई ठिक ट्रयाकमा ल्याएर संविधानको रक्षा गर्नेतिर लागेका दाबी गरे। वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर चुनावसम्म जाने सहमति सकारात्मक भएको उनको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार